२८ आश्विन २०८३, बुधबार

माटोभित्र

लघुकथा

संबाददाता: कथाकार डा. कृष्ण शाह यात्री

उसले आँखा खोल्दा आफूलाई आईसीयूमा पायो ।

एक महिनापछि होस आएको थियो । आँखा खुल्नासाथ उसले परिवार खोज्यो – श्रीमती, छोराछोरी, आमा-बुबा, आफन्त ।

तर उत्तर कतै थिएन ।

त्यसपछि उसले आफूलाई खोज्यो ।

त्यसको उत्तर पनि पाएन ।

हिँड्न सक्ने भएपछि ऊ आफ्नो गाउँ फर्कियो ।

गाउँ थिएन ।

घर थिएन । खेत थिएन । बाटो थिएन । चारैतिर बगर मात्र थियो ।

उसले बगरबाट एक मुठ्ठी माटो उठायो । लामो समयसम्म हेरिरह्यो । अनि मुट्ठीभित्र कसिलोसँग च्याप्यो ।

उसको आँखामा परिवारका अनुहारहरू आए । घरको आँगन आयो। खेतका डिलहरू आए। बाल्यकाल आयो ।

सबै माटोभित्रै थिए ।

उसले मुट्ठी खोलेन ।

बिस्तारै उठ्यो ।

यसपटक ऊ आफ्नो गाउँ खोज्न होइन, गाउँ जोगाउन हिँड्यो ।

(लघुकथा, कथाकारको फेसबुकवालबाट साभार गरिएको हो ।