संबाददाता: सम्बादाता
उदयपुर ,११ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उदयपुर जिल्ला कमिटीले उदयपुर निर्वाचन क्षेत्र नं. १ मा पार्टीका आधिकारिक उम्मेदवारबारे फैलाइएका भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिअनुसार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उक्त क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये स्वतन्त्र उम्मेदवार देव राज रोका (कल्याण) ले आफूलाई “सबै राजनीतिक दलको साझा उम्मेदवार” भएको दाबी गर्दै सञ्चारमाध्यम तथा सार्वजनिक मञ्चमार्फत भ्रामक प्रचार गरिरहेकोप्रति एमाले पार्टी उदयले आपत्ति जनाएको छ।
एमालेले देव राज रोका (कल्याण) को पार्टीसँग कुनै पनि प्रकारको राजनीतिक, सांगठनिक वा वैचारिक सम्बन्ध नरहेको स्पष्ट गरेको छ। साथै उनी पार्टीका कुनै पनि जिम्मेवारीमा नरहेको र कुनै पनि जनवर्गीय संगठनसँग आबद्ध नरहेको जनाएको छ।
पार्टीको नाम र चिन्ह दुरुपयोग गरी जनतालाई भ्रममा पार्ने गैरजिम्मेवार अभिव्यक्ति तथा गतिविधिप्रति सजग रहन जिल्ला कमिटीले आम मतदाता, शुभेच्छुक तथा समर्थकलाई आग्रह गरेको छ।
विज्ञप्तिमा उदयपुर निर्वाचन क्षेत्र नं. १ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का एकमात्र आधिकारिक सूर्य चिन्हका उम्मेदवार दुर्गा कुमार थापा (स्वस्ती) रहेको स्पष्ट गरिएको छ।
जिल्ला कमिटीले भ्रामक, झुटा तथा योजनाबद्ध प्रचारमा विश्वास नगर्न आग्रह गर्दै सूर्य चिन्हमा मतदान गरी पार्टीका उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ। साथै पार्टीका नेता–कार्यकर्ता तथा समर्थकलाई यस्ता भ्रमपूर्ण गतिविधिको डटेर सामना गर्दै निर्वाचन अभियान सफल बनाउन अनुरोध गरिएको छ।
विज्ञप्तिमा एमाले उदयपुर जिल्ला अध्यक्ष भागवत राउत को हस्ताक्षर रहेको छ।