१८ आषाढ २०८३, बिहिबार

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् गम्भीर घाइते

श्रीमान घाईते उपचार हुँदै

संबाददाता: सम्बादाता

उदयपुर, १८ असार । उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अधेरी जोगिटारस्थित मदन भण्डारी राजमार्गको गाईघाट–कटारी सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहीबार अपराह्न करिब ३:४५ बजे गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको स५ प ४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट वीरगञ्जदेखि गाईघाटतर्फ आउँदै गरेको ना ५ ख १८४२ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका–३, बरे निवासी २८ वर्षीया यमुना अधिकारी बिकको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल चालक तथा मृतकका श्रीमान् २८ वर्षीय हेम बिक गम्भीर घाइते भएका छन्। उनको टाउको, छाती तथा हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बिकको उपचार जिल्ला अस्पताल उदयपुरमा भइरहेको छ।

दुर्घटनापछि फरार भएको ट्रकलाई चुहाडे प्रहरी चौकीले नियन्त्रणमा लिई चालकसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको छ।

घटनाबारे जानकारी दिँदै संगमचोक ट्राफिक प्रहरीका निश्चल सुबेदीले दुर्घटना आज अपराह्न ३:४५ बजे भएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।