०४ आषाढ २०८३, बिहिबार

उदयपुरमा सुनका गरगहना र नगद चोरी प्रकरणमा ३ जना पक्राउ

आफ्नै घरमा डेरा गरि बस्नेले चोरी गरे

संबाददाता: संघीय सम्बाददाता

गाईघाट , २७ जेठ । उदयपुरको त्रियुगा नगरपालिका–१० करमगाछीस्थित एक घरबाट नगद तथा सुनका गरगहना चोरी गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ २७ गते बेलुका करिब ६:३० बजे स्थानीय अनिल खड्काको घरमा कोही नभएको मौका छोपी नगद १ लाख रुपैयाँ र करिब ६ तोला १४.५ आना सुनका गरगहना चोरी भएको थियो।

घटनाको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा सोही घरको तल्लो तलामा डेरा गरी बस्ने २३ वर्षीया सुस्मिता थापा कटुवाल तथा नजिकै डेरा गरी बस्ने २८ वर्षीया मिना विकमाथि शंका गरी खानतलासी गरेको थियो।

खानतलासीका क्रममा सुस्मिता थापा कटुवालको कोठाबाट चोरी भएको नगद १ लाख रुपैयाँ, नौगेडी, मंगलसूत्र, चन्द्रमा, औँठी, पञ्चरत्न बाला र सिक्री लगायतका सुनका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ। साथै चोरीको रकमबाट खरिद गरिएको एक थान इन्फिनिक्स मोबाइल समेत फेला परेको छ।

त्यसैगरी मिना विकको डेरा नजिकै रहेको आँपको रुखको फेदबाट ६३ हजार रुपैयाँ नगद, एक थान भिभो मोबाइल, चार्जर तथा इयरपड बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले चोरीमा संलग्न दुवै जनालाई पक्राउ गरेको छ भने चोरी भएका बाँकी गरगहना अवैध रूपमा खरिद गरेको आरोपमा गाईघाट बजारस्थित बराह ज्वेलर्सकी सञ्चालक ३९ वर्षीया यशोदा विकलाई समेत नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।