संबाददाता: सम्बादाता
उदयपुर, ७ जेठ। उदयपुरको त्रियुगा नगरपालिका–२ संगम टोलमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्।
बिहीबार बिहान करिब १०ः३० बजे स्थानीय रबिन्द्र पौडेलको घरको आँगनमा भएको घटनामा सोही स्थान बस्ने २९ वर्षीया सुमा राईमाथि उनकै मामा नाता पर्ने ४३ वर्षीय बिनोद राईले खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विष्णु बहादुर खड्काको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
खुकुरी प्रहारबाट सुमा राईको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन्। उनलाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल उदयपुरबाट थप उपचारका लागि बिहान ११ः५० बजे विराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि आरोपी बिनोद राईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।