संबाददाता: संघीय सम्बाददाता
गाईघाट, २९ असोज । उदयपुरको त्रियुगा नगरपालिका–७ सुर्केमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–बसाह निवासी १८ वर्षीय सोनु बस्याल रहेका छन् । बसले च्यापिएर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं बाट धरानतर्फ आउँदै गरेको प्रदेश १–००६ ख ८५२२ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनाका बेला बसमा ३५ जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार दुर्घटनामा संलग्न बसका चालक ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० निवासी ३० वर्षीय सुमन खत्रीलाई नियन्त्रणमा लिइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।