२८ आश्विन २०८३, बुधबार

त्रियुगा नगरपालिकाका विद्यालयमा बिदा ,भारी वर्षा हुने खतरा

नगरका सबै शिक्षालय एक दिन बन्द हुने

संबाददाता: संघीय सम्बाददाता

गाईघाट , ८ असोज । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै त्रियुगा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयमा एक दिनका लागि बिदा दिने निर्णय गरेको छ।

त्रियुगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय गाईघाटले २०८३ असोज ८ गते जारी गरेको सूचनाअनुसार नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत, धार्मिक तथा मन्टेश्वरी विद्यालयहरूमा असोज ९ गते शुक्रबार विद्यालय बिदा गरिएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौंको असोज ७ गतेको पत्रअनुसार असोज ९ देखि ११ गतेसम्म नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको उल्लेख गरिएको छ।

मौसमजन्य विपद्का कारण बाढी, पहिरो, डुबान तथा नदी कटानलगायत जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको सूचनामा विद्यालय बिदाको समयमा बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा नजान र आवश्यक सावधानी तथा सतर्कता अपनाउन अभिभावक तथा नगरवासीलाई आग्रह गरिएको छ।

त्रियुगा नगरपालिकाले नगर क्षेत्रका सबै प्रकारका विद्यालयलाई बिदासम्बन्धी सूचना विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ।