संबाददाता: सम्बादाता
सिन्धुली, ११ जेठ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले काक्रोभित्र लागूऔषध लुकाएर ओसारपसार गर्दै गरेका एक युवकलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले कमलामाई नगरपालिका–९ भिमानस्थित बी.पी. राजमार्गमा चेकजाँच गर्ने क्रममा युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–२ बस्ने २६ वर्षीय विक्रम श्रेष्ठ रहेका छन्। उनी सवार बा.४ ख ५५०० नम्बरको हायस गाडीलाई जाँच गर्ने क्रममा प्रहरीले शंकास्पद वस्तु फेला पारेको जनाएको छ।
प्रहरीले रातो झोलाभित्र राखिएका काक्रो चिरेर हेर्दा कालो र सेतो प्लास्टिकले बेरिएको अवस्थामा लागूऔषध (खैरो हेरोइन जस्तो देखिने पदार्थ) फेला पारेको थियो। बरामद पदार्थको तौल प्लास्टिकसहित १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीको भनाइ छ।
घटनापछि युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। साथै सम्मानित सिन्धुली जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।