२० माघ २०८२, सोमबार

उदयपुरमा चुनाबी सर्गर्मी बढ्दो

जिल्लामा ३१ प्रतिनिधि सभा सदस्यमा मैदानमा

संबाददाता: यमन राईडोने

गाईघाट,१२ माघ । उदयपुरमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहौल तातेको छ। दुई वटा निर्वाचन क्षेत्रमा ३१ जना उम्मेदवार मैदानमा उत्रिएपछि जिल्लाको राजनीतिक सरगर्मी बढेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट १८ जना र क्षेत्र नम्बर २ बाट १३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। ठूला दलसँगै नयाँ दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिले यसपटकको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।

निर्वाचन क्षेत्र नम्बर १ मा त्रियुगा, चौदण्डिगढी र बेलका नगरपालिका पर्दछन्। यहाँ सबैभन्दा धेरै मतदाता त्रियुगा नगरपालिकामा रहेकाले यस क्षेत्रको मत निर्णायक हुने देखिन्छ। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलका उम्मेदवारहरू मतदाता तान्न घरदैलो अभियानमा व्यस्त छन्।

त्यस्तै, भौगोलिक रूपमा विकट मानिने निर्वाचन क्षेत्र नम्बर २ मा पनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यस क्षेत्रमा कटारी नगरपालिकाको मत निर्णायक मानिएको छ। यहाँ प्रमुख दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले मत विभाजनको सम्भावना बढाएको छ।

जिल्लाभर कुल २ लाख ३८ हजार ९ सय २६ जना मतदाता रहेका छन्। मतदानका लागि १०३ मतदान स्थल र २७५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयले जिल्लाका सबै पालिकामा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारी पूरा भएको जनाएको छ।